हेटौैंडा – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । धनुषा, मोरङ, कास्की र सल्यानमा एक–एक जनाको मृत्यु भएको हो ।
धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा मंगलबार बिहान पिकअप जिपको ठक्कटरबाट मोटरसाईकल चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका ५ का ५६ वर्षीय शेर बहादुर राई को घटनास्थलमै मृत्यु भएको छ । काठमाण्डौबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००२ च ५२६३ नम्बरको जिपले राई सवार ना ५२ प ५१३० नम्बरको मोटरसाईकललाई आज बिहान साढे ८ बजे ठक्कर दिएको थियो ।
त्यस्तै मोरङको केराबारी नगरपालिका ८ मा ट्रयाक्टरमा च्यापिएर चालक केराबारी नगरपालिका १० का १९ वर्षीय पिलिज बिकको मृत्यु भएको छ । मंगलबार बिहान पौने ९ बजे को २ त ६७०० नम्बरको ट्रयाक्टरको स्ट्रिङमा च्यापिएर घाइते भएका बिकको उपचारको क्रममा स्थानिय सुनुना अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका ६ खहरेमा मोटरसाईकल दुर्घटना हुँदा चालक डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ का २० वर्षीय किशोर कठायतकोको मृत्यु भएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल आज बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको थियो ।
त्यसैगरी सल्यानको शारदा नगरपालिका १ दारिमचौरमा बोलेरो जिप दुर्घटना हुँदा परिचालक स्थानिय १८ वर्षीय नारायण ओलिको मृत्यु भएको छ । गम्भीर घाइते भएका ओलिको उपचारको क्रममा सल्यान स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप मंगलबार बिहान ६ बजे अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो ।