प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राहत सामग्री बोकेको ट्याक्टर दुर्घटना: ५ जनाको मृत्यु, ९ घाइते

२०८० पौष ५, बिहीबार ०७:५५ बजे

काठमाडौं – रुकुमपश्चिममा भूकम्पपीडितका लागि राहत सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्।

आठबीसकोट नगरपालिका वडा नं ८ स्थित कोट च्यारीगाउँ खोला नजिकै घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्याक्टरगएराति १० बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको रूकुम पश्चिम प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए।

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका – १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकी शाही, सोही वडाको भईडाँडाका ५२ वर्षीय भर्दर सार्की, आठबिसकोट – ८ सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र सोही ठाउँकी ४७ वर्षीया निर्मला सार्की रहेका छन् । उनीहरूको शव नगर अस्पताल आठबिसकोटमा राखिएको छ।

घाइतेहरूमा आठबिसकोट – ८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबिसकोट – १० का ३८ वर्षीय रमेश कार्की, आठबिसकोट – ८ का १४ वर्षीय दलबहादुर पुन, सोही ठाउँका ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ सार्की, ५१ वर्षीय जगबिर सार्की, ३६ वर्षीय जयबहादुर सार्की, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन छन् ।

उनीहरुको नगर अस्पतालमा उपचार भइ रहेको प्रहरीले छ । घाइतेमध्ये तीन जनालाई बढी चोट लागेको तथा एकजनाको अवस्था गम्भीर रहेको डिएसपी भट्टराइले जानकारी दिए।

आठबिसकोट – १० को तिरीकोटको भित्री सडक खण्ड अन्तर्गत नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरुका लागि अस्थायी टहरा निर्माणका लागि जस्तापाता तथा राहत सामग्री ट्याक्टरमा लगिँदै थियो। ट्याक्टर सडकबाट अन्दाजी ३० मिटर तलको मोडमा खसेको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। सांकेतिक तस्बीर