काठमाडौं – बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालतमा हातमा हतकडी बिना उपस्थित भएका छन्। उनलाई अदालतले पहिलो पटक दिएको सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । उक्त समय आज सकिएपछि प्रहरीले उनलाई म्याद थपका लागि उपस्थित गराएको हो।
लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सूर्यबहादुर थापाको बेञ्चले पाँच दिन म्याद थप गरेको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।
२० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । म्याद थप भएको पाँच दिनभित्र बयान सकाएर १ कात्तिकमा मुद्दा दर्ता गर्ने तयारीमा प्रहरी रहेको छ ।
१६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सन्दीपले काठमाडौंको एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।