बैतडी – भारतबाट ल्याएको आलुको बोरामा १२ किलो विस्फोटक पदार्थ भेटिएको छ । भारतीय सीमा नाका कुलाघाटबाट आलुको बोरामा लुकाइछिपाई ल्याइएको अवस्थामा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सुरा र गन्धक प्रहरीले बरामद गरेको हो ।
दशरथचन्द नगरपालिका-८, झुलाघाटस्थित मौराभिर भन्ने स्थानबाट बारुद बनाउन प्रयोग गरिने गन्धक दुई किलो र सुरा १० किलोसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
झुलाघाटबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ आउँदै गरेको से १ ज ४०९ नम्बरको जिपमा सवार दशरथचन्द नगरपालिका-२, देहीमाडौंकी ४२ वर्षीय पुष्पा बोहरालाई पक्राउ गरिएको जानकारी खत्रीले दिए ।
पक्राउ परेकी महिलालाई जिल्ला अदालतबाट विस्फोटक पदार्थसम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट महिला भरिया हुन सक्ने अनुमान गरिएको छ ।