हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रिद्धि सिद्धि सिमेन्ट फ्याक्ट्री नजिकै पूर्व–पश्चिम राजमार्गमा रुख ढल्दा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार आज दिउँसो करिब १२:१५ बजे भारतको बिरगञ्जबाट हेटौंडातर्फ आइरहेको बीआर ३२ एके १२४१ नम्बरको भारतीय मोटरसाइकलमा अचानक रुख ढल्दा मोटरसाइकल चालक घाइते भएका हुन्। घाइते व्यक्ति भारत, बिहारस्थित मधुबन–५ निवासी अन्दाजी २० वर्षीय कनैया कुमार रहेको प्रहरीको भनाइ छ।
उक्त घटनामा घाइते भएका कुमारलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।