प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ओमान विरुद्धको नेपालको कीर्तिमानी योगफल

२०८० बैशाख ८, शुक्रबार ०७:३३ बजे

काठमाडौं – नेपालले एसिसी प्रिमियर कपमा ३ सय ११ रनको कीर्तिमानी योगफल बनाएको छ । ओमान विरुद्धको खेलमा टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको हो ।

यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल हो । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो ।

नेपालका लागि अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १ सय ८ रनको शतकीय ईनिङ खेले । उनले ५९ आफ्नो शतक पूरा गरेका थिए ।

उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले कप्तान रोहित पौडेलको  ९१ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् ।

उनी ओडिआईमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी बनेका छन् । यसअघि नेपालबाट पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक हानेका थिए ।

सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका हुन्। करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।

तर सुरुवातमा नेपालले खराब प्रदर्शन गरेको थियो । नेपालले टोलीकै पहिलो रन २८ औं बलमा जोडेको थियो । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर बिलाल खानले कुशललाई एलबीडब्लू आउट गरेका थिए ।


तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भिम ३३ रनमा आउट भए । पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए ।

ओमानका लागि आयान खानले २ तथा बिलाल खान,कलिमुल्लाह खान,जिशान मकशुद,फायाज बट र जतिन्दर सिंहले समान १/१ विकेट लिए ।