प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मौरिससमा ६ हिन्दू भक्तको मृत्यु, शिवरात्रि अघि कार्यक्रममा आगलागी

२०८० फाल्गुन २२, मंगलबार ०८:३१ बजे

काठमाडौं – मौरिससमा शिवरात्री अघि धार्मिक कार्यक्रमका क्रममा आगलागी हुँदा ६ भक्तजनको मृत्यु भएको छ । सो घटनमा परी अन्य धेरै मानिस घाइते भएका भारतीय सञ्चारमाध्यमले लेखेका छन ।

मौरिससका प्रहरी आयुक्त अनिलकुमार दीपले भने– ‘शिवरात्रि अघि भक्तजनहरु पैदल हिँड्दै ग्राण्ड बेसिन तालमा पुगेका थिए । यी मानिसहरू काठ र बाँसले बनेको गाडामा देवताका मूर्तिहरू बोकेर तालतिर जाँदै थिए। उक्त गाडी खुला विद्युतीय तारसँग सम्पर्कमा आएर आगलागी भएको हो ।’

ग्रान्ड बेसिन ताललाई पूर्वी अफ्रिकी देश मौरिससका हिन्दू समुदायले पवित्र स्थल मान्दछन् ।

हिन्दू धर्म अफ्रिकी देश मौरिससको सबैभन्दा ठूलो धर्म हो। सन २०२१ को जनगणना अनुसार, यहाँ लगभग ४५ प्रतिशत जनसंख्या हिन्दूको छ । यो अफ्रिकाको एक मात्र देश हो, जहाँ यति ठूलो संख्यामा हिन्दुहरू बस्छन्। विश्व स्तरमा हेर्दा हिन्दुहरुको जनसंख्याको हिसाबले भारत र नेपाल पछि मरिससको नाम आउँछ ।