प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

२०७९ असार २४, शुक्रबार ०९:२७ बजे

काठमाडौं– गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ। उनको उपचारका क्रममा अस्पतालमा निधन भएको जापानी सरकारी समाचार संस्थाले पुष्टि गरेको छ । अन्य विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि निधन भएको जनाएका छन्।

शुक्रबार बिहान चुनावी अभियानका क्रममा नारा सहरको सडकमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एक बन्दूकधारीले उनीमाथि गोली प्रहार गरेका थिए। तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । ६७ वर्षका आबेको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले घृणित कार्य भएको प्रतिक्रिया दिएका छन्। गोली प्रहार गर्ने व्यक्तिलाई जापानी सुरक्षा अधिकारीहरुले पक्राउ गरिसकेका छन्। गोली किन प्रहार गरियो र उनी को हुन भन्नेबारे केही सार्वजनिक भएको छैन।