हेटौंडा – रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा मंगलबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ९ जनाको घटनास्थलमै र ३ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला रहेका छन् । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटनामा घाइते भएका २१ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रामेछापको हिलेदेखी काठमाण्डौ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस आज बिहान सवा १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।