प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पास्नी भोज खाएर फर्किने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, २८ घाइते

२०७९ चैत्र ७, मंगलबार ०३:४० बजे

काठमाडौं – कैलालीमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । गए राति से १ त ८८७० नम्बरको ट्र्याक्टर जोशीपुर गाउँपालिका–७ हजारी भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनमा परी भजनी नगरपालिका–९ का १५ वर्षीया चाहना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । उनका अनुसार दुबैको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दगोरिया गाउँपालिका–६ सुगरखालस्थित आफन्तको घरबाट पास्नी भोज खाएर फर्कि रहेकाहरुलाई बोकेको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी २८ जना घाइते भएका छन् । उनीहरुको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टरमा ३० जना सवार थिए । दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का कृष्णीदेवी डङ्गौरा, रत्ना चौधरी, आशादेवी डङ्गौरा, विपिन चौधरी, फूलराम चौधरी, हीरा चौधरी, रीता चौधरी, क्षितिज चौधरी, रीया चौधरी, वीरेन्द्र चौधरी, सानु चौधरी, अपेक्षा चौधरी, सविन चौधरीको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।