प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकलाई समृद्ध बनाउन सकिन्छ: प्रधानमन्त्री प्रचण्ड

२०८० बैशाख १९, मंगलबार ०२:३४ बजे
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले छैटौँ सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा व्यक्त गरेका छन् । मंगलबार एक एक विज्ञत्तिमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गरेका हुन् ।
 
सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै नेपालमा पनि सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढिरहेको बताउँदै प्रधानमन्त्री दाहालले नेपालमा चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गरिने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
 
‘सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन् । पछिल्लो समयमा सार्वजनिक सेवा प्रवाहका क्षेत्रलाई सहज र सरल बनाउने सन्दर्भमा पनि सूचना तथा सञ्चार प्रविधि थप सहयोगी बन्दै गइरहेको छ ।’ शुभकामना सन्देशमा भनेका छन् । 
 
सञ्चार तथा सूचना प्रविधिको  विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको उनले बताएका छन् । उनले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको पनि सन्देशमा भनेका छन् ।
 
 
विस्तृतमा शुभकामना सन्देश:
 
छैटौँ सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्रीज्यूले जारी गरेको शुभकामना सन्देश
 
 “सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि” भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाउन थालिएको छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै नेपालमा पनि सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढिरहेको छ । सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन् । पछिल्लो समयमा सार्वजनिक सेवा प्रवाहका क्षेत्रलाई सहज र सरल बनाउने सन्दर्भमा पनि सूचना तथा सञ्चार प्रविधि थप सहयोगी बन्दै गइरहेको छ । 
 
सञ्चार तथा सूचना प्रविधिको  विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त छ । यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको छ । नेपाल सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेम वर्क, २०७६ कार्यान्वयनमा ल्याएको छ । साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीति नियम र संरचना बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको छ । चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन कार्य भइरहेको छ ।  
 
सरकारी सेवामा सूचना प्रविधिका दक्ष जनशक्ति भित्र्याउन र उपलब्ध जनशक्तिलाई सेवामा टिकाई राख्नका लागि समयसापेक्ष नीतिगत सुधार गर्दै लगिने छ । दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउनका लागि लागि सबै जिल्लाहरूमा फोरजी सेवालाई प्रभावकारी बनाउँदै लगिएको छ । अफ्टिकल फाइबरको विस्तारमार्फत उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई द्रुत गतिमा अघि बढाइएको छ । आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्‍याउने सरकारको लक्ष्य रहेको छ । 
 
अन्त्यमा, सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास गरी यसको माध्यमबाट आम जनताको जीवनमा रूपान्तरण ल्याउनका लागि म सम्बद्ध सबै पक्षसँग अपिल गर्न चाहन्छु ।
 
१९ वैशाख, २०८०
पुष्पकमल दाहाल “प्रचण्ड”
प्रधानमन्त्री