काठमाडौं – आइसीसी यू–१९ विश्वकप आजदेखि सुरु हुँदैछ। विश्वकपको पहिलो खेलमा आज आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दैछन्। दुवै खेल नेपाली समय अनुसार अपराहन्न १:४५ बजेदेखि सुरु हुने छन्।
दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदैछन्। यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ। यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन्। नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ।
यस विश्वकपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शिर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन्। अर्को चरणमा पुग्ने १२ देशलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन्। सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्नेछ। अन्त्यमा दुवै समूहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन्।
विश्वकप खेल्ने नेपाली टिम:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द।