प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विदेश जाने युवालाई सरकारले नै सस्तो ब्याजमा ऋण दिन्छ: प्रधानमन्त्री प्रचण्ड

२०८० पौष २४, मंगलबार १७:४९ बजे

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने बताए ।

प्रधानमन्त्री कार्यालयमा आज श्रममन्त्री, सचिव र विभागीय कर्मचारीसँगको छलफलमा उनले वैदेशिक रोजगारीमा जाने युवा अनुचित लेनदेन र दलालबाट ठगिएका उल्लेख गर्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिए । उहाँले मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत् रूपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीको महत्त्वपूर्ण योगदान रहेको स्मरण गराउँदै श्रमिकलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिए । ‘अहिले वृद्धि भएको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत् रूपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला’, उनले भने, ‘आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्कलगायत थप आर्थिक बोझ पर्ने कुनै प्रकारको काम नगर्ने व्यवस्था गर्नुहोला ।’

प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकको आबद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिए । उनले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाण्डौ धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव भएसम्म सबै सेवा पालिकाबाटै प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।