प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जग्गाको विषयमा विवाद हुँदा कुटपिट गरेर हत्या

२०७९ मंसिर २७, मंगलबार १४:१० बजे

हेटौंडा – जग्गाको विषयलाई लिएर कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सर्लाहीमा जग्गाको विषयलाई लिएर कुटपिट गरी चक्रघट्टा गाउँपालिका–२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा सोही ठाउँ बस्ने उनकै देवर नाता पर्ने ६५ वर्षीय पुकार रायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पुकार राय, उनको छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय र बुहारी ३० वर्षीया अनिता देवी राय समेत मिली जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार जितेन्द्र र अनिताको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।