प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल सुपर लिग: साविक विजेता काठमाडौं रेजर्सले विजयी सुरूवात

२०८० मंसिर ८, शुक्रबार २१:०५ बजे

काठमाडौं – नेपाल सुपर लिगमा साविक विजेता काठमाडौं रेजर्सले विजयी सुरूवात गरेको छ। शुक्रबार साँझ दशरथ रंगशालामा भएको उद्घाटन खेलमा काठमाडौंले स्पोर्टिङ इलामलाई १-० गोलले पराजित गरेको हो ।

काठमाडौंको जितमा राजीव लोप्चन नायक सावित भए। उनले खेलको ५१ मिनेटमा गरेको गोल निर्णायक हुँदा काठमाडौंले जित हात पारेको हो ।

इलामका कप्तान तथा गोलकिपर विकेश कुथुले क्लियर गर्न नसकेको बलमा उनले डिबक्स भित्रबाट गोल गरे। त्यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

प्रतियोगितामा ९ टिमले भाग लिँदैछन् भने टिममा पाँच विदेशी खेलाडी राख्न पाइने नियम छ। यस्तै कतिपय टिमले विदेशी प्रशिक्षक समेत भित्र्याएका छन्।

लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची सहभागी हुनेछन्। सबै टिमले लिग चरणमा एकआपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन्।