काठमाडौँ – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।
मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो। कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।
सरकारको घोषणासँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले लागु गर्ने मन्त्री बडूले बताए ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पनि कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो।
निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजलरमट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ ।
एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ ।