प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जनप्रतिनिधि मस्त निन्द्रामा, सडक मर्मत नहुँदा स्थानीयको ज्याननै जोखिममा

२०७९ भाद्र २१, मंगलबार ०५:३७ बजे

क्षितिज सारगम (रिकेश) – सिन्धुपाल्चोकको लिसङ्खुपाखार गाउँपालिका वडा नम्बर १ ठूलो धादिङको साबिक वडा ६ मा लामो समयदेखी सडक मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।

सो क्षेत्रको हिलाम्मे सडकका कारण सवारीसाधन आवतजावतमा समस्या हुँदा विरामीलाई अस्पताल लैजाने क्रममा ठुलो सास्ती खेप्नु परेको छ । खराब सडकको कारण समयमै विरामीलाई अस्पताल पुर्याउन नसकी ज्यान गुमाउनु पर्ने जोखिम बढेको स्थानीय सागर तामाङ बताउँछन् ।

यो घटना यही भदौ २० गते सोमबार हो । धादिङ टोल निवासी ८४ बर्षको कुङ्गा लामालाई एक्कसी स्वस्थ्यमा समस्या आयो । उनका परिवारले लामालाई उपचारको लागि नजिकैको खाडिचौर अस्पताल लैजाने तयारी गरे ।

अस्पताल घरबाट अलि टाडानै पर्ने भएकाले लामाका परिवारले एम्बुलेन्स बोलाए । केही समयपछि एम्बुलेन्स आइपुग्यो । तर, आधा बाटोसम्म । सवारी गुड्ने बाटो भएपनि लामाको घरसम्म आउन सकेन । हिलाम्मे सडक भएको कारण एम्बुलेन्स बाटोमै फसेको रहेछ ।

स्थानीयले एम्बुलेन्स भएको स्थानमा विरामी लामालाई पुर्याउन करिब आधा घण्टा भन्दा बढी बोक्नु पर्यो । बिरामी एम्बुलेन्स भएको स्थानमा आइपुग्यो, तर हिलो सडकबाट एम्बुलेन्स पार गराउन स्थानीयहरुले झण्डै एक घण्टा भन्दा बढी समय संर्घष गर्नु पर्यो ।

विरामीलाई अस्पताल पुर्याउदा होस्, या अन्य सामाग्री गाउँमा ल्याउँदा स्थानीयले हिलाम्मे सडकसंग ठुलो संर्घष गर्नुे स्थानीय सागर तामाङ बताउँछन् ।उनले गाउँमा केही व्यक्ति बिरामी परे सडक मर्मत नहुँदा ज्याननै जोखिममा हुने बताए । सडक मर्मतमा पालिका र वडाले पनि लामो समयदेखि ध्यान नदिएको उनले बताए  ।

 ‘अन्य घरायसी सामाग्री ल्याउँदा–लैजादा होस् या विरामीलाई अस्पताल, जहिले हामीले हिलो सडकमा हातखुट्टा धसार्नु पर्ने ?,’ जनप्रतिनिधिलाई प्रश्न गर्दै उनले भने, ‘हिजो भोट माग्दा के भन्नु भएको थियो, त्यो पनि हेक्का राख्नुस् ।’