सुर्खेत – जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए ।
‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।
जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् ।
यसैगरी, रूकुम पश्चिममा ३६ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।