हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव समेत रहेका सविन न्यौपानेमाथि अज्ञात समूहले मोबिल प्रहार गरेको छ।
बुधबार अपरान्ह हेटौंडा १ स्थित चाइनाक्वाटर रहेको हेटौंडा वडा नम्बर १ को कार्यालयमै उनीमाथि मोबिल छ्यापिएको मकवानपुर प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले वडाअध्यक्ष न्यौपानेमाथि मोबिल छ्यापेर फरार भएका हुन् ।
मोटरसाइकल नम्बर नखुलेको जनाइएको छ । प्रहार गरिएको मोबिल न्यौपानेको टाउको, शरीर र कपडामा परेको थियो। घटनापछि फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताएका छन् ।
घटनास्थलमा ‘भूमिहीन सुकुमवासी’ शीर्षक लेखिएको खाली रेकर्ड फाइलसमेत फेला परेको प्रहरीले जनाएको छ।
उपमहानगरपालिकाले केही समयदेखि हेटौँडा अस्पतालपछाडि स्वर्गलोक क्षेत्रमा रहेको सार्वजनिक जमिनमा निर्माण गरिएका अवैध टहरा हटाउन अभियान सञ्चालन गरिरहेको छ।
घटनाको जानकारी पाए लगतै हेटौंडाकी मेयर मिना कुमारी लामा, उपमेयरमा राजेश बानियाँ, हेटौंडाका अधिकांश वडाहरू घटनास्थल पुगेका थिए। यता घटनाको घोर भर्त्सना गदै नेपाली कांग्रेसले विज्ञप्ति जारी गरेको छ। कांग्रेक मकवानपुरको सचिव भिमसेन महतले विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गरेका छन्।