काठमाडौं – नेपाली टोली एएफसी यू–२३ एसिया कप छनोटमा सहभागी नहुने भएको छ । आर्थिक अभावको कारण देखाउँदै एन्फाले नेपाली टोलीलाई समावेश नगरेको हो ।
छनोटमा नेपाली टोली सहभागी नगराउने निर्णयपछि अखिल नेपाल फुटबल संघको चर्को आलोचना सुरु भएको छ । असक्षम नेतृत्वका कारण उमेर समूहको नेपाली टिम अन्तराष्ट्रिय सहभागीताबाट बञ्चित हुन परेको भन्दै सार्वजनीक रुपमा एन्फा र यसको नेतृत्वको आलोचना भैरहेको हो ।
एन्फाले नाम समावेश नगरेपछि एएफसीले विवरण सार्वजनीक गरेको छनोट प्रतियोगिताको विस्तृत विवरणमा नेपाली समावेश थिएन । अर्को वर्ष कतारमा हुने एएफसी यू–२३ एसिया कपका लागि खेलिने छनोट प्रतियोगिताको ड्र आगामी बिहीबार हुदैछ । छनोट प्रतियोगितामा ४३ टिम खेल्ने भएका छन् ।
सेप्टेम्बर ४ देखि १२ सम्म ११ मैदानमा प्रतियोगिताका छनोट खेल हुनेछन् । सहभागी टिमहरु मध्य चार/चार टिम समावेश गरेर १० वटा समूह र तीन टिम सहभागी गराएर अन्तिम एक समूह तयार गरिनेछ । सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिता हुनेछ । समूहको विजेता टिम र उत्कृष्ट चार उपविजेता टिमले कतारमा हुने एसिया कपमा सहभागीता जनाउनेछन् । प्रतियोगिता सन् २०२४ अप्रिल १५ देखि मे ३ सम्म कतारमा हुनेछ ।