प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सातौं पटक नेपथ्य हेटौंडामा

२०७९ मंसिर २२, बिहीबार ०१:४८ बजे

हेटौंडा – मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली आइपुगी सकेका छन् । नेपथ्य टोली मंगलबारै आयोजक मानवसेवा आश्रमका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

छोटो औपचारिक समारोहको समेत आयोजना गर्दै आयोजक टोलीले यस कन्सर्टको उद्देश्य र महत्वका बारेमा प्रकाश पारेका थिए । नेपथ्य ब्याण्डलाई हेटौंडामा प्रस्तुत गरेका पूर्व आयोजकले आफ्नो अनुभवसमेत राखेका त्यस अवसरमा ब्याण्डका गायक अमृत गुरुङले पनि बोलेका थिए ।

यसअघि नेपथ्यले बिराटनगर र वीरगन्जमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ । नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्ता माझ लोकप्रिय लोकरक संगीत टोली हो । यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत हेटौंडामा तेश्रो प्रस्तुती दिनलागेको हो । कार्यक्रम मंसिर २२ गते बिहीबार बेलुकी ४ बजे स्थानीय भुटनदेवी स्कुलको मैदानमा हुनेछ ।

हेटौंडा नेपथ्य ब्याण्डको सर्वाधिक प्रिय सहरमध्ये एक हो । यहाँ ब्याण्डले यसपटक आफूलाई सातौंपटक प्रस्तुत गर्दैछ । एक दसकअघि ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत सन् २०१२ मा आफूलाई यस सहरमा अन्तिम पटक प्रस्तुत गरेको थियो । दुइपटक ‘सुन्दर, शान्त, नेपाल’ र चारपटक ‘शान्तिको लागि शिक्षा’ अभियानअन्तर्गत आफूलाई प्रस्तुत गरिसकेको नेपथ्यको सर्वाधिक कन्सर्ट गरिएका सहरमध्ये हेटौंडा पनि पर्छ ।

संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्नलागेको हो । यस क्रममा नेपालको पुर्वदेखि पश्चिमसम्म गरेर दस स्थानमा कन्सर्ट आयोजना गरिनेछ । बिराटनगरबाट सुरुभएको यो यात्रा एक महिनासम्म चल्नेछ । यात्रा सुरुगर्नुअघि नेपथ्य टोलीले काठमाडौंमा रिहर्सल सम्पन्न गरेको थियो ।

बिहीबारको प्रस्तुतीका लागि भुटनदेवी स्कुल मैदानमा मञ्च बनाउने काम लगभग सम्पन्न भइसकेको छ भने बुधबार बेलुकी आवाज तथा प्रकाश इत्यादिको परिक्षण गरिनेछ । मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुती अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ । त्यो स्तरलाई कायम गर्नकै निम्ति कलाकारबाहेक पनि ठूलो संख्यामा प्राविधिक तथा व्यवस्थापन टोलीले साथमा यात्रा गर्नुपरेको हो ।

‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम हेटौंडाका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको हेटौंडास्थित संयोजक हुमनाथ पौडेल भन्छन्, ‘कार्यक्रमलाई भब्य रुपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’ पौडेलका अनुसार हेटौंडा कन्सर्टका टिकटहरु धमाधम बिक्री भइरहेका छन् । समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरुले अनलाइन मार्फत् पनि टिकट काट्न सक्ने उनले बताए । त्यसको निम्ति मानवसेवा आश्रमको आधिकारिक वेबसाइट एमएसए डट ओआरजी (msa.org.np) मार्फत सोझै काट्न सकिन्छ । त्यसैगरि नेपथ्य ब्याण्डको वेबसाइट (nepathya.com.np) बाट पनि कन्सर्टहरुको टिकट उपलब्ध गराइएको छ । टेलिफोनमार्फत् सिट सुरक्षित गर्नचाहने दर्शकहरुका निम्ति ९८५५०७६००२ र ९८४३३४७६०१ नम्बर उपलब्ध छन् ।


यो कन्सर्टको लाभांसले हेटौंडाको लामसुरेधापमा रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण र त्यहाँ आश्रित बेसहाराहरुको पालन पोषण गर्ने उद्देश्य राखिएको छ । त्यहाँ १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिलागरेर १९२ जना आश्रितको संरक्षण गरिएको छ ।

‘मानवसेवा आश्रमको मुख्यालय रहेको हेटौंडाबाट नै मुलुकभर मानव सेवाको सन्देश विस्तार भइरहेको छ,’ संयोजक पौडेल भन्छन्, ‘त्यसैले हेटौंडावासीले अत्यन्त उत्साहका साथ सहभागीता जनाएर कार्यक्रमलाई भब्य र सभ्य बनाउने विश्वास लिएका छौं ।’