प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चिकित्सक संघ मकवानपुरद्वारा प्रेस विज्ञप्ति जारी, आकस्मिकबाहेकका सेवा बन्द हुने

२०८२ असार २२, आईतबार १५:३२ बजे
हेटौंडा। नेपाल चिकित्सक संघ मकवानपुर शाखाले स्वास्थ्य क्षेत्रमा बढ्दो समस्या, चिकित्सकमाथि बढ्दो जोखिम र सरकारको उपेक्षामूलक व्यवहारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। 
 
संघको केन्द्रिय समितिद्वारा असार २० गते जारी गरिएको प्रेस विज्ञप्तिप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै शाखाले विभिन्न आन्दोलनात्मक कार्यक्रम तय गरेको हो। संघले विज्ञप्तिमा भनेको छ, “चिकित्सा सेवा कुनै व्यवसाय होइन, यो मानवसेवाको पेशा हो।
 
यसलाई अवमूल्यन गर्ने, चिकित्सकमाथि दवाव सिर्जना गर्ने कार्यहरू अस्वीकार्य छन्।” संघका अध्यक्ष डा. हरि बहादुर खड्का र सचिव डा. राजु सेढाईद्वारा हस्ताक्षरित विज्ञप्तिमा चिकित्सा पेशाको संरक्षण र चिकित्सकको सम्मान कायम राख्न सरकारसँग गम्भीर आग्रह गरिएको छ।
 
पछिल्ला दिनहरुमा चिकित्सा पेशालाई नियमनविना कमजोर पार्ने निर्णय र व्यवहारविरुद्ध संघको केन्द्रले चालेका कदम आवश्यक र समयानुकूल भएको जनाउँदै शाखाले ऐक्यबद्धता जनाएको हो।
 
आन्दोलनका चरणबद्ध कार्यक्रमहरू यसप्रकार छन्:
 
असार २० गते, शुक्रबार — सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने।
 
असार २२ गते, आइतबार — चिकित्सकहरूले कार्यस्थलमा एक घण्टा धर्ना दिने।
 
असार २३ गते, सोमबार — आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने।
 
असार २४ गते, मङ्गलबार — चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र बुझाउने।
 
संघका अनुसार पछिल्लो समय चिकित्सकमाथि बढ्दो आक्रमण, मानसिक तनाव, कानुनी अन्योल र पेसागत असुरक्षाले चिकित्सा क्षेत्रलाई धरापमा पारिरहेको छ। यस्तो अवस्थामा केन्द्रबाट सुरु भएको आन्दोलनमा मकवानपुर शाखाले समेत पूर्ण सहभागिता जनाउने जनाएको हो।
 
संघले स्वास्थ्यकर्मी, आम नागरिक, सञ्चारमाध्यम र अधिकारकर्मीहरूलाई आन्दोलनप्रति सकारात्मक दृष्टिकोण अपनाउन आग्रह गर्दै भनेको छ — “हामी जनताप्रति उत्तरदायी छौं।
 
तर पेशाको रक्षा बिना जनसेवा सम्भव छैन। यस आन्दोलनको अन्तिम लक्ष्य सबैका लागि सुरक्षित, मर्यादित र प्रभावकारी स्वास्थ्य सेवा स्थापना गर्नु हो।”
 
कार्यकारी समिति विवरण:
अध्यक्ष: डा. हरि बहादुर खड्का
बरिष्ठ उपाध्यक्ष: डा. रामचन्द्र सापकोटा
उपाध्यक्ष: डा. प्रमोद कुमार चौरासिया
सचिव: डा. राजु सेढाई
कोषाध्यक्ष: डा. सुभाष कुमार बनैता
सह-सचिव: डा. मो. आरिफ करिम
सह-कोषाध्यक्ष: डा. ज्योती मुडभरी
सदस्यहरू: डा. सुयोग्य बाग्ले
डा. सुनिल साह,
डा. प्रशान्त बिडारी
डा. आशुतोष कुमार दास
डा. अमरदीप मण्डल
डा. घनश्याम प्रताप साह
 
संघले आम नागरिकलाई पर्न सक्ने असुविधाप्रति खेद प्रकट गर्दै सोको जिम्मेवारी नेपाल सरकार आफैँमा हुने स्पष्ट पारेको छ। साथै, संघले स्वास्थ्यकर्मी, सरोकारवाला निकाय र आम चिकित्सक समुदायलाई आन्दोलनमा साथ दिन अनुरोध गरेको छ।
 
 Open photo