काठमाडौं – जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा अमेरिकाले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ । टागासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७ रन बनायो ।
अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय ईनिङ खेले । उनी ७९ बलमा १० चौका र ३ छक्काको मद्दतमा १ सय रनमा अविजित रहे ।
वेस्ट इन्डिजसँगको खेलमा शतक बनाएका गजानन्द सिंह २६ रनमा आउट भएका थिए । सुशान्त ओपनर मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए । निर्शग पटेलले ३४ रन र जसदिप सिंहले १२ रन जोडे ।
नेपालका लागि करण केसीले ४ विकेट लिए । उनले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिएका हुन् । गुलसन झाले ३, दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी १ विकेट आफ्नो नाममा गरे ।
पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उता, अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।