काठमाडौं – युवाहरुबीच ग्याङ फाइट हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका छन्।
दैलेख प्रहरीका अनुसार गएराति भैरबी गाउँपालिका–४ मा रहेको सिलङ्गी बजारमा दुई समुहबीच भएको सामान्य विवादमा झडप भएको थियो । मोटरसाइकलमा आएका केही युवाहरुले गाली गलौज गर्दै, अपशब्द बोल्ने गरेका थिए ।
मान्छेहरुलाई सुन्न नसकिने अपशब्दका गाली गलौज किन गरेको भनी स्थानीयले सम्झाउन खोज्दा झडपको स्थिति आएको प्रहरी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए ।
झडपमा बुढा क्षेत्री सहित भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाही दुल्लू घाइते भएका थिए । क्षेत्रीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । मृत्यु भएका किशोर ससुराली गएका थिए ।दुल्लू अस्पतालमा सामान्य उपचार गरी डिस्चार्ज भइसकेका छन् ।
प्रहरीले घटनास्थलबाट बा ३३ प ७९५९ नम्बरको १५० सीसीको निलो रङ्गको पल्सर मोटरसाइल उठाई सिलङ्गी प्रहरी चौकीमा राखेको छ । घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको आचार्यले जानकारी दिए ।