प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पहिरो पन्छाउन ६२ करोड खर्च

२०८१ आश्विन २०, आईतबार ०७:४८ बजे

कालीकोट – कर्णाली राजमार्गमा गइरहने पहिरो पन्छाउन मात्रै गत दुई वर्षको अवधिमा ६२ करोड खर्च भएको छ । राजमार्गमा खसेको पहिरो पन्छाउन मात्र ६२ करोड खर्च भएको सरकारी तथ्याङ्क छ । यो खर्च गत दुई वर्षयताको हो । यसमा चालु आर्थिक वर्षको खर्च जोडिएको छैन । यो बर्खामा कति करोड रुपियाँ पहिरो पन्छाउनका लागि खर्च गरियो, त्यसको लगत हालसम्म अद्यावधिक गरिएको छैन ।

२०७९ सालको दसैँको बेला लगातार सात दिनसम्म भएको अविरल वर्षाले क्षतिग्रस्त कर्णाली राजमार्गको पहिरो पन्छाउन सरकारले सडक बोर्डमार्फत आकस्मिक सडक मर्मतसम्भारका लागि ६२ करोड ३६ लाख ८२ हजार रुपियाँ खर्च गरेको पाइएको छ । कालीकोटको दहीखोलाबाट जुम्लाको लाम्रासम्म पहिरोले क्षतिग्रस्त बनाएको सडक चौडा गर्न, नाली बनाउन र पर्खाल बनाउन आठ वटा ठेक्का लगाएको थियो तर ठेकेदार कम्पनीको ढिलाइका कारण गत वर्षको असार महिनामा मात्र काम सकियो । सडक अवरोध जस्तो तत्काल गरिहाल्नुपर्ने काम पनि ठेकेदारले समय घर्काएर गर्दासमेत भुक्तानी भएको पाइएको छ । गोरखापत्रबाट