हेटौंडा – शनिबार बिहानबाट परेको वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौंं जोड्ने वैकल्पिक मार्गका रुपमा रहेको सिस्नेरी–दक्षिणकाली सडक सडकखण्ड अवरुद्ध बनेको छ ।
यो सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठुलो पहिरो गएकोले तत्काल बाटो खुलाउन नसकिने र बाटो खुलाउनको लागि सडक डिभिजन र गाउँपालिकासँग समन्वय भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले सिस्नेरी हुँदै काठमाडौं जाने बाटो अवरुद्ध बनेकोले अन्य बाटो प्रयोग गर्न भनेको छ ।
यस्तै भीमफेदी–फाखेलतर्फको बाटोमा पनि पहिरोका कारण अबरुद्ध भएको छ । ईन्द्रसरोबर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडक खण्ड पनि अबरुद्ध बनेको प्रहरीले जनाएको छ ।
यस्तै कान्तिराजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज शनिबार बिहानैदेखि कान्तिराजपथ पनि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ललितपुरको बागमती गाउँपालिका–३पाङजुरे (भट्टेडाँडा नजिक) पनि पहिरो गएको प्रहरीले जनाएको छ । पहिरो हटाएर राजसडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
त्रिभुवनपथ, हेटौंडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्ग भने सुचारु रहेको प्रहरीले जनाएको छ ।