हेटौंडा – कास्कीको पोखरा महानगरपालिका १४ चाउथेमा आज बिहानै जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने पछाडी सवार युवक घाइते भएका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका २७ तालचोकका ३४ वर्षीय प्रज्वल गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गुरुङको बिहान सवा ५ बजे मृत्यु भएको हो । घाइते भएका स्कुटरमा सवार पोखरा २७ अर्घौं अर्चलेका २७ वर्षीय विमल गिरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चाउथेबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जिपले विपरित दिशाबाट आउँदै ग ८ प ५८३८ नम्बरको स्कुटरलाई आज बिहान साढे ४ बजे ठक्कर दिएको थियो । जिप सहित चालक वडा प्रहरी कार्यालय रामबजारले नियन्त्रणमा लिएको छ ।
प्रतिगात्मक तस्वीर