प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

अमेरिकाको बोस्टनमा पशुपतिनाथ बुद्ध फाउण्डेशनको बृहत् धार्मिक कार्यक्रम

२०८० जेठ २५, बिहीबार ०२:५७ बजे

बोस्टन – अमेरिकाको बोस्टनमा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)ले आयोजना गरेको ४ दिने कार्यक्रम मे २७ तारिखमा शुभारम्भ भई मे ३० मा सम्पन्न भएको हो।

कार्यक्रम बोस्टन सहरको ५९४ वासिङ्टन स्ट्रिट, ब्रेनट्री (594 Washington Street, Braintree) स्थित प्याब्फोन(PABFONE) को आफ्नै सामुदायिक भवनमा आयोजना गरिएको थियो। मे २१ तारिख आइतावारका दिन पूर्वाङ्गको कार्य सम्पन्न गरेसंगै हरेक दिन विभिन्न धार्मिक क्रियाकलापहरु गरिएको थियो।

४ दिने मुख्य कार्यक्रम अन्तर्गत सामुदायिक भवनमा स्थापना गरिएको पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य भगवानका मूर्तिहरुमा धार्मिक विधि अनुसार प्राण प्रतिष्ठा, सामूहिक ईही पूजा, मापरित्राण पाठ, भिक्षु तथा लामा भन्तेहरुबाट दान प्रदान, बौध्द गुरुहरुबाट धम्म ज्ञानको प्रवचनलगायत धार्मिक कार्यहरु सम्पन्न गरिएको थियो।

यही शुभसाइतमा लघुरुद्री(१२१ पाठ) लगाउने, होम गर्ने, ब्रतबन्ध गर्ने, लाखबत्ती बाल्ने कार्य पनि सम्पन्न गरिएको थियो भने, हरेक दिन साँझ आरती गरिनुका साथै भक्तजनहरुले कलाकारहरुको साथमा भजन कीर्तन गरेका थिए। पशुपतिनाथ मन्दिरतर्फ हरिप्रसाद काफ्ले(शैव) र बुद्ध मन्दिरतर्फ समन्त बज्राचार्यले पूजा संयोजकको जिम्मेवारी सम्हालेका थिए।

पूजा संयोजक काफ्लेका अनुसार कार्यक्रम अत्यन्त हर्षोल्लासका साथ सम्पन्न भएको र वैधिक मन्त्रद्बारा भगवानहरुको प्राण प्रतिष्ठा कार्य सम्पन्न गरिएको थियो। कार्यक्रम तालिका अनुसार धार्मिक क्रियाकलापहरु सम्पन्न गरिसकेपछि सबैले भगवानको नाम लिदै एकै चोटी ताली बजाएर सामूहिक रुपमा सामुदायिक भवनको उद्घाटन गरिएको थियो। उद्घाटनसंगै सहभागीहरुले एक आपसमा बधाई तथा शुभकामना आदानप्रदान गरेका थिए।कार्यक्रममा श्रध्दालु भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

सन् २०१२ मा गठन गरिएको पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु इंगल्याण्ड(प्याब्फोन- PABFONE) को लामो अथक नेतृत्वदायी भूमिका र समुदायको अमूल्य साथ र सहयोगको कारणले संस्था यो चरणसम्म आइपुग्न सफल भएको हो। धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने, सामुदायिक अचल सम्पत्ति जोड्ने, नेपाली समुदायलाई एकताबद्ध गराउने, नेपाली पहिचान,नेपालीपन र नेपालीत्वलाई अक्षुण्ण राख्ने र भावी सन्ततिहरुका लागि पहिचानको आधार स्तम्भहरु स्थापित गर्ने मुख्य उद्देश्यहरु राखेको प्याब्फोन(PABFONE)ले स्थापना कालदेखि नै आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य देवी देवताहरुका मूर्तिहरुसहितको मन्दिर स्थापना गर्ने महत्वकांक्षी लक्ष्य लिएर अभियान छेडेको थियो। जसले अन्ततोगत्वा समुदायकै अथक साथ, सहयोग र सक्रियतामा सार्थकता पाएको छ। कार्यक्रम अपेक्षा गरे भन्दा पनि बढी प्रभावकारी, उत्साहजन, उत्प्रेरक, आनन्ददायी र फलदायी भएको आयोजकले जनाएको छ।

बृहत् कार्यक्रमका संयोजक प्रल्हाद केसीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा निकै खुशी व्यक्त गरे। उनले यो सफलता न्यू इङ्ल्याण्डवासीको मात्र नभएर सारा अमेरिकावासी प्रवासी नेपालीको भएको बताए। उनले कार्यक्रम गौरवका साथ मनाइएको जनाउदै उनले भने, 'आज गौरवताको दिन आएको छ। र, आज गौरवताले मनाइयो। यसको बयान छैन।' पशुपतिनाथ र बुद्धमन्दिरको स्थापना संयुक्त रुपमा एकताबद्ध भएर गरिएकाले, कार्यक्रम ऐतिहासिक भएको संयोजक केसीले दावी गरे।

उनले कार्यक्रम सफल हुनुको साथ साथै जिम्मेवारी पनि त्यति नै थपिएको उल्लेख गरे। उनलेले थपिएको जिम्मेवारीलाई पूरा गर्न, थप एकता, सक्रियता, इमानदारिता र लगनशिलताको खाँचो भएको जिकीर गरे। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न समुदायको अहम भूमिका रहेको स्मरण गर्दै उनले सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्।

संस्थाको बोर्ड अफ ट्रष्टिका अध्यक्ष सुशिल पौडेलले कार्यक्रम अत्यन्त सफल भएको टिप्पणी गरेका छन्। भक्तजनहरुमा निकै प्रसन्नता र उर्जा देखिएको जनाउदै अध्यक्ष पौडेलले भने,' कार्यक्रम अत्यन्त सफल भएको मैले अनुभव गरेको छु। किन भने जतिपनि भक्तजनहरु आउनु भएको छ।उहाँहरु सबैमा प्रसन्नता र उर्जा देखिएको छ। सबैजना खुशी हुनुहुन्छ। कतिजना आउनु भयो भन्ने लेखाजोखा नै राख्न सकिएको छैन।' उनले संस्था स्थापना काल भन्दापनि अगाडिदेखि अहिसम्मको विभिन्न काल खण्डमा प्रत्यक्ष परोक्ष रुपमा योगदान पुराउने सबैलाई स्मरण गर्दै जति नै धन्यवाद दिए पनि अपुग हुने बताए।

संस्थाले प्राप्त गरेको उपलब्धिहरुप्रति सबैले गर्व गर्नु पर्ने र अपनत्व ग्रहण गर्नु पर्ने बताउदै बोर्ड अफ ट्रष्टिका अध्यक्ष पौडेलले भने, 'लामो समयदेखिको सबैको निरन्तर प्रयासले हाम्रो सपना साकार भयो। यसमा सबैले गर्व गरौं। र, अपनत्व ग्रहण गरौं।'

यस सम्बनधमा संस्थाको कार्यसमितिका अध्यक्ष बिष्णु कार्कीले कार्यक्रम सोचेको भन्दा पनि बढी भव्यताका साथ सम्पन्न भएको बताए। अध्यक्ष कार्कीले प्रत्यक्ष अप्रतक्ष्य रुपमा अहोरात्र खटेर कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैलाई धन्यवाद दिएका छन्। कार्यक्रम धार्मिक र सामाजिक रुपमै सफल भएको बताउदै उनले भने, 'कार्यक्रम धार्मिक र सामाजिक दुबै कोणबाट भव्य सफल भयो। तन,मन, धन दिदै अहोरात्र खटेर सहयोग गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यवाद दिन चाहन्छु।' कार्यक्रम सम्पन्न भएसंगै मन्दिर र सामुदायिक केन्द्रलाई प्रभावकारी रुपमा नियमित सञ्चालन गर्न चुनौति थपिएको अध्यक्ष कार्कीको बुझाइ छ। उनले थपे,' कार्यक्रम त भव्यताका साथ सम्पन्न गर्यौ।अब यसलाई प्रभावकारी रुपमा नियमित सञ्चान गर्ने चुनौती थपिएको छ। यो चुनौतीको सामना गर्न समुदायको निरन्तर साथ सहयोगको खाँचो छ। त्यसकालागि सबैलाई अनुरोध गर्दछु।'

कार्यक्रम निकै सभ्य र भव्य रुपमा सम्पन्न भएको संस्थाको बोर्ड अफ ट्रष्टिका उपाध्यक्ष मिलन गुरुङको बुझाइ छ। उपाध्यक्ष गुरुङले बुद्ध फाउण्डेशनको स्थापनासंगै मन्दिर र सामुदायिक केन्द्र बनाउने सबैको चाहना पुरा भएको प्रतिक्रिया दिए।

सबैको साथ सहयोगले उक्त चाहना पूरा गर्न सम्भव भएको जीकीर गर्दै उनले यस अभियानमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। कोरोना कालमा निकै समस्याहरु झेल्नु परेको स्मरण गर्दै उपाध्यक्ष गुरुङले कुनै पनि योजना बनाउदा कुनै परिस्थितिमा छोड्न नहुने पाठ सिकेको बताए। कोरोना कालको विषम परिस्थितिमा पनि योजनालाई नथाकि, नछाडि सम्पन्न गर्न निरन्तरन्त लागिपरेकाले, अन्ततोगत्वा सफलता हात परेको उनको ठम्याइ थियो।

संस्थाको बोर्ड अफ ट्रष्टिका अर्का उपाध्यक्ष बिरोचन नेपालले पनि संस्थाले देखेको महत्वाकांक्षी सपना, लामो समयदेखिको एकिकृत अथक प्रयासका कारण पुरा भएको र त्यसले उत्साहित गराउनुका साथै थप जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमको कस्तो रह्यो भन्ने कुरा समाजले मुल्याङ्कन गर्ने कुरा भएको बताउदै उनले आयोजकको तर्फबाट सकेको राम्रो गरेको बताए।

उनले भने, 'अब समग्रमा मुल्याङ्कन त समाजले गर्ने हो। हामी आयोजकको टिमबाट हामीले सकेको राम्रो गर्यौ भन्ने हाम्लाई लाग्छ।' सकेसम्म सबै विधिहरु पूरा गरेर भगवानहरुलाई प्राण दिने कार्य भएको बताउदै उपाध्यक्ष नेपालले दशकौंदेखिको अभियान सफल भएको बताए।

मूर्ति प्राण प्रतिष्ठा एवम् सामुदायिक भवन समुद्घाटन कार्यक्रम सम्पन्न गरिएसंगै अब श्रध्दालु भक्तजनहरुका लागि मन्दिर पूजा, पाठ, दर्शन आदि गर्न नियमित रुपमा खोलिने भएको छ। त्यसैगरी, कार्यक्रमहरु गर्न चाहनेहरुका लागि पनि कार्यक्रम हल सशुल्क लिएर उपलब्ध गराइने भएको छ।