प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सातौँ राजर्षि जनक कपको उपाधि मच्छिन्द्रलाई

२०७९ फाल्गुन ८, सोमबार ०२:५१ बजे

हेटौंडा – सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । आइतबार भएको फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि जितेको हो । यसअघिको दुई संस्करणको उपाधि पिप्ले युवा क्लब हेटौंडाले जितेको थियो ।

मच्छिन्द्रका जितमा विमल घर्तीमगर र कप्तान सुजल श्रेष्ठले एकएक गोल गरेका थिए । यस्तै जावलाखेलका विनोद केसी एक गोल फर्काएका थिए ।

निकैप्रतिस्पर्धात्मक फाइनल खेलको ३० औँ मिनेटमा विमल घर्तीमगरले पेनाल्टी गोलमार्फत मच्छिन्द्रले अग्रता बनाएको थियो । जवलाखेलका खेलाडीले छिरिङ गुरूङमाथि फाउल गरेपछि पेनाल्टी पाएको थियो । विमलले सहजै गोल गरेका थिए ।

यस्तै, खेलको ७५औँ मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनाएको थियो । मछिन्दाका लागि दोस्रो गोल कप्तान सुजल श्रेष्ठ गरेका थिए । उता जावलाखेलका विनोद केसीले खेलको ८३ औँ मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए, तर त्यो पर्याप्त थिएन ।

राजर्षि जनक कपको सातौँ संस्करण विजेता मछिन्द्रले ट्रफिसहित नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता जवलाखेलले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

बागमती युवा क्लबका खेलाडी अभिषेक वाइबा बागमती राईजिङ अफ दी ईयर प्लेयर्स घोषित भएका छन् । उनले प्रोत्साहन स्वरुप पस्लसरको एनएस २०० मोटरसाइकल प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडी बागमतीका सिर्जन गौतम घोषित भए । उनले नगद ५१ हजार प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, बेस्ट स्ट्राइकर विमल घर्तीमगर र उत्कृष्ट प्रशिक्षक प्रवेश कटुवाल, बेस्ट डिफेन्स जावलाखेलका सिमान्त थापामगर र मिडफिल्डर समिराज थोकर घोषित भए । उनीहरुले जनही २५/२५ हजार प्राप्त गरेका छन् ।

 तस्वीरः गोलनेपाल डटकम