प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आगजनी र लुटपाट गर्ने ५० जना पक्राउ

२०७९ फाल्गुन ८, सोमबार ०३:१२ बजे

काठमाडौं – बालाजुस्थित प्रहरी चौकीका दुईवटा सवारी साधनमा आगजनी र नयाँ बसपार्कको ल्होत्से मल तोडफोड गरी लुटपाट गर्ने ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते यातायात मजदुरको आन्दोलनका क्रममा बा २ झ १४४ नम्बरको स्कार्पियो र बा १ झ ७२२४ नम्बरको प्रहरीको गाडीमा आगजनी गरिएको थियो ।

नयाँ बसपार्क प्रयोग गर्ने वा नगर्नेबारे भएको विवादमा नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले प्रहरीका दुईवटा गाडीमा तोडफोड गर्ने ३५ र गोङ्गबुमा रहेको ल्होत्से मल तोडफोडमा संलग्न १५ जना पक्राउ परेको जानकारी दिए ।

पक्राउ पर्नेमा अधिकांश चालक, सहचालक, लुटपाट तथा चोरीमा पटक–पटक संलग्न भएका र कतिपय टिकट लिएर काठमाडौँ बाहिर जान लागेका यात्रुसमेत रहेको प्रहरीले जनाएको छ । उनले घटनामा संलग्न अन्य व्यक्तिको पहिचान भएको र नियन्त्रणमा लिने कार्य भइरहेको बताए ।

नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी पाएको ल्होत्से मल र यातायात मजदुर सङ्गठनका प्रतिनिधिबीच विवादपछि झडप भएको थियो । ल्होत्से कम्पनीको ज्यादतीको विरोधमा गरिएको भनिएको प्रदर्शनमा सरकारी सम्पत्तिमा क्षति पु¥याई आगजनी तथा तोडफोड गरिएको थियो ।

प्रदर्शनका क्रममा ल्होत्से मल, एसीडीसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र काठमाडौँ सुपरमार्केट प्रालिमा तोडफोड तथा लुटपाट भएको थियो । घटना पूर्वयोजनाअनुसार कसैको उक्साहट वा नियोजित रूपमा थियो वा थिएन भन्नेबारे समेत प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।