काठमाडौं – दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यु-१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले आज समूह चरणको दोस्रो खेल खेल्न लागेको हो ।
समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेकोले नेपाललाई अर्को चरणसम्म पुग्न आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । यही समूहमा रहेको पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।
न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा जितको लागि तीन सय तीन रनको लक्ष्य पाएको नेपालले दुई सय ३८ रन मात्रै बनाउन सकेको थियो । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल १२ गते अफगानिस्तानसँग खेल्नेछ ।
विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
पाकिस्तान र नेपालबीच अण्डर नाईन्टिन विश्वकपमा भएका २ खेलमा दुवैले १–१ खेल जितेका छन्। सन् २०१६ मा भएको खेलमा पाकिस्तान १ सय २२ रनले जितेको थियो भने सन् २००२ मा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो। सन् २००० मा यि दुईबीच तय भएको खेल वर्षाले रोकिएको थियो।
जारी प्रतियोगिताको समूह डी मा पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो।