प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बम बिष्फोट घटनामा संलग्न ४ जना पक्राउ

२०७८ चैत्र १९, शनिबार १३:०९ बजे

हेटौंडा– सुनसरीको ईटहरी उपमहानगरपालिका–२ स्थित बम बिष्फोटन भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका–२ बस्ने २० वर्षीय रविन थापा, सोही ठाउँ बस्ने ३२ वर्षीया लक्ष्मी देवी थापा, लमजुङ ढोडेनी गाउँपालिका–७ बस्ने २३ वर्षीय शेरजंग गुरुङ र झापा कन्काइ नगरपालिका–८ लक्ष्मीपुर बस्ने ४३ वर्षीय संजय भन्ने खगेन्द्र खरेल रहेका छन् ।

ईटहरी उपमहानगरपालिका–२ डेरा गरी बस्ने लक्ष्मी थापाको कोठामा चैत १४ गते बम बिष्फोट हुँदा मानिस घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले शेरजंग गुरुङ र लक्ष्मी थापाको छोरा रविन थापालाई घाइते अवस्थामा फेला पारी उपचारको लागि अस्पताल पठाएको थियो ।

घटनाको थप अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी इकाई कार्यालय धरान सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमध्ये रविन र शेरजंगलाई उपचार पश्चात, लक्ष्मी देवीलाई ईटहरी उपमहानगरपालिका–२ बाट र घटनाका मुख्य योजनाकार खगेन्द्र खरेललाई झापा मेचिनगर नगरपालिका(६ स्थित नेपाल भारत सिमाना काकडभित्ताबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा शिर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।