तनहुँ – आमाको निर्घात कुटाइबाट पाँच वर्षीय बालक घाइते भएका छन् । शुक्लागण्डकी नगर पालिका–१०, जुवालथर बस्ने टीकादेवी नेपालीको कुटाइबाट पाँच वर्षीय छोरा सागर घाइते भएका हुन् ।
आमा टीकादेवीले आगो फुक्ने ढुङ्ग्रीले प्रहार गर्दा बालक सख्त घाइते भएकाले उपचारका लागि जीपीको इराला श्वासप्रश्वास उपचार केन्द्रमा भर्ना गरिएको उपचार भइरहेको वडाध्यक्ष राजेन्द्र भट्टराईले जानकारी दिए । कुटपिटपछि घाइते छोरालाई बोकेर खोला किनारमा पुगेकी टीकादेवीको शङ्कास्पद गतिविधिलाई स्थानीयले देखेपछि नियन्त्रणमा लिई बालकको उद्धार र आमालाई प्रहरीको जिम्मा लगाइएको हो।
प्रहरी हिरासतमा रहेकी आमा टीकादेवीले खाजा मागेर छोराले झगडा गरेपछि केहीछिन पखभन्दा नमाने काले कुटपिट गरेको बयान दिएकी हुन् । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी निरीक्षक भोजबहादुर पाण्डेले बताए ।