हेटौंडा – काठमाडौं, चिनवन, डोटी र मोरङमा भएको सवारी दुर्घटना परी पाँच जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
डोटीको पूर्वीचौकी गाँउपालिका १ स्थित दौडिकोटमा हिजो बेलुकी जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा डोटीकै पुर्वीचौकी गाँउपालिका ३ का २९ वर्षीय खेम बोहरा र सोही ठाँउका ४५ वर्षीय पुरन बोहरा रहेका छन् । घाइते भएका ७ जनालाई उपचारको लागी जिल्ला अस्पताल डोटी पठाइएकोमा गम्भीर घाइते भएका ४ जनालाई थप उपचारको लागी धनगढी स्थित निसर्ग अस्पताल पठाइएको छ । से १ ज ८३९ नम्बरको जीप हिजो बेलुकी ७ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी ६०० मिटर तल खोलामा खसेको थियो ।
त्यस्तै काठमाडौंको कलंकीस्थित स्युचाटार पुल नजिकै हिजो साँझ मोटरसाइकल अनियन्त्रति भई सडक डिभाइडरमा ठोकिएर पल्टीदा गम्भीर घाइते भएकी चालकको मृत्यु भएको छ । नुवाकोटको कुमारी १ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ बर्षीया लक्ष्मि दर्नालको उपचारको क्रममा कलंकी स्थित नेपाल नेशनल अस्पतालमा राती साढे १० बजे, मृत्यु भएको हो ।दर्नालले चलाएको बागमति प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल हिजो साँझ पौने ६ बजे डिभाइडरमा ठोकिएको थियो ।
मोरङको बुढिगंगा गाँउपालिका २ टंकिचोकमा गएराती मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका १९ खनार का २२ वर्षीय अनिश कार्की रहेका छन् । उनको उपचारको क्रममा मोरङ स्थित बिराट मेडिकल कलेजमा गएराती पौने १० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । घाइते भएका मोटरसाईकलमा पछाडि सवार मोरङ जहदा गाँउपालिका ४ का २१ वर्षीय सुमन राजवंशी र बिराटनगर ११ का १८ वर्षीय रोनिस दाहालको सोही अस्पतालमा उपचार भईरहेको छ । ३ जना सवार रहेको को १७ प ७६७२ नम्बरको मोटरसाईकल गएराती सवा ९ बजे अनियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय नेमुवा मोरङले जानकारी दिएको छ ।
त्यसैगरी चितवनको भरतपुर महानगरपालिका ७ प्रेमवस्तीमा हिजो बेलुकी भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनकै भरतपर महानगरपालीका १५ फुलबारीका २५ बर्षीय एक्सन गौतम रहेका छन् । गौतमले चलाएको ना ६३ प ७४ ०६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई पैदलयात्रीलाई ठक्कर दिएर रोकी राखेको स्कुटरमा समेत ठोकिएको थियो । हिजो बेलुकी साढे ७ बजे, भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गौतमको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो । पैदलयात्री भने सामान्य घाइते भएका छन् ।