हेटौंडा – दुई मोटरसाइकल एकाआपसमा ठोक्किएर दुर्घटना हुँदा दुइ वटै मोटरसाइकलका चालकको मृत्यु भएको छ । झापाको बिर्तामोड–२ बेलडाँगीको भित्री सडकमा सोमबार साँझ मे ५ प १६०४ र मे ३ प ५५८० नम्बरको मोटरसाइकलमा एकाआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय अनिश साउँदेन र सोही गाउँपालिका वडा नम्बर ६ का ४३ वर्षीय भोलाराज भुजेल रहेका छन् । उनीहरूको बिएन्डसी अस्पतालमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार भुजेलकी श्रीमती ४२ वर्षीया चन्द्रकला भुजेल र ९ वर्षीया छोरी प्रशन्ना भुजेल घाइते भएका छन्। उनीहरूको बिर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।