प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

इजरायली आक्रमणमा गाजामा ४० जना प्यालेस्टाइनीको ज्यान गयो

२०८१ कार्तिक २६, सोमबार ०७:०९ बजे

गाजामा इजरायली आक्रमणबाट कम्तीमा ४० जना प्यालेस्टाइनीको ज्यान गएको छ । आक्रमणबाट गाजाको उत्तरी शहर जबलियामा रहेका आवासीय भवनमा रहेका २४ जनासहित ४० जना प्यालेस्टाइनीको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारी र मानव अधिकार समूहले बताएका छन् ।

हिजो बिहानै इजरायली आक्रमणमा जबलियामा रहेको तीन तले भवन ध्वस्त हुँदा नजिकै रहेका घरका अरु ३० जना घाइते भएका गाजामा रहेको प्यालेस्टाइनी सेन्टर फर ह्युमन राइट्स (पीसीएचआर) लाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

इजरायली सेनाले जबलियामा विद्रोही समूहले कब्जा गरेको ठाउँमा आक्रमण गरेको दाबी गरेको छ । उनीहरुले त्यस क्षेत्रमा रहेका इजरायली रक्षा बलका सेनाहरूलाई खतरा बनाएका रिपोर्ट आइरहेकाले आक्रमण गरेको सेनाको भनाइ छ । केही दिनदेखि गाजामा इजरायली सेनाले अस्पताल तथा विरामीको उपचार सेवामा हस्तक्षेप गर्दै आइरहेको छ ।