काठमाडौं – दाङको गढवा–कोइलाबास सडक खण्डअन्तर्गत गढवा गाउँपालिका–५, कक्रहवामा बुधबार दिउँसो भएको अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
राजपुरबाट कोइलाबासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो रिक्सा घुम्तीमा मोड्ने क्रममा अनियन्त्रित भई पल्टिँदा राजपुर गाउँपालिका–३, भैसहवाका ५० वर्षीय तुलाराम बिकको मृत्यु भएको हो।
घाइते अवस्थाका बिकलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका लागि लगिएको थियो। तर उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिएका छन्।
दुर्घटनामा भैसहवाकै ४० वर्षीया बसन्ती बिक र ३६ वर्षीय प्रेमचन्द्र यादव घाइते भएका छन्। बसन्ती बिकको लमही अस्पताल र प्रेमचन्द्र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ।
अटो चालक भैसहवाका ४० वर्षीय मदन बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिएका छन्।
सवारी साधन घुम्तीमा अनियन्त्रित भएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।