काठमाडौं – नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेल घरेलु टोली जिम्बावेविरुद्ध २ सय ९१ रनको लक्ष्य पेश गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले १ सय ७१ रनको कीर्तिमानी साझेदारी गरे । यो नेपालको ओडिआईमा अहिलेसम्मकै उच्च साझेदारी हो ।
भुर्तेल र शेखले अर्धशतकीय ईनिङ खेले । कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए । कुशल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध पहिलो शतक बनाउन मात्र १ रनले चुके । त्यस्तै शेखले १ सय बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाए ।
तेस्रो विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ७२ रनको महत्वपुर्ण साझेदारी गरे । कप्तान पौडेल २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाउदै आउट भए । मल्लले ४२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए ।
गुलसन झाले १३ बलमा १३ रन बनाए । आरिफ शेखले ११ बलमा १० रन बनाएर आउट भए । करण केसीेले २ रन र सोमपालले शुन्य रनमा अविजित रहे ।
जिम्बावेका लागि रिचार्ड नगर्भाले ४ र विलिङ्टन मासाकाट्जाले २ विकेट लिए । ब्लेसिङ्ग मुजवानी र टेन्डी चताराले समान १/१ विकेट आफ्नो नाम गरे ।