काठमाडौँ – स्थानीय तहले हरेक वर्षको असार १० गतेभित्र आआफ्नो सभामा आगामी वर्षको नीति र कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ४२ वटा स्थानीय तहले तोकिएको मितिभित्र सभामा बजेट पेस गर्न सकेनन् ।
कुल ७५३ स्थानीय तहमध्ये २९३ वटा नगरपालिका छन् । नेपाल नगरपालिका सङ्घका अनुसार तीमध्ये १३ वटा नगरपालिकाले असार १० गतेभित्रै बजेट पेस गर्न सकेनन् ।
त्यस्तै कुल ४६० वटा गाउँपालिकामध्ये २९ वटा गाउँपालिकाले गाउँ सभामा आगामी आर्थिक वर्ष २०८०र/८१ का लागि बजेट पेस गर्न नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएको छ ।
छ वटा महानगरपालिका रहेकामा तिनले भने तोकिएको मितिभित्रै बजेट ल्याएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले स्थानीय तहका विभिन्न कठिनाइले गर्दा कानुनले तोकिएको समयसीमाभित्रै बजेट सभामा पेस गर्न नसकेको बताए ।गोरखापत्र दैनिकबाट