प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बझाङमा शक्तिशाली भूकम्प: भौतिक संरचना भत्किए, क्षतिको विवरण संकलन हुँदै

२०८० आश्विन १६, मंगलबार १६:३७ बजे

काठमाडौँ – बझाङको चैनपुर केन्द्रबिन्दु भएर मंगलबार दिउँसो ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

शक्तिशाली भूकम्पपछि बझाङका सर्वसाधारण त्रसित बनेका छन् । स्थानीयहरु घरबाहिर खुल्ला चौर, सडक लगायतका सुरक्षित स्थानमा निस्किएका छन् । बझाङ सदरमुकाम चैनपुरका केही घरहरु भत्किएका छन् अधिकांश घरहरु चर्किएर क्षति पुगेको छ । यद्यपि ग्रामीण क्षेत्रमा ठाउँठाउँमा घरहरु भत्किएको खबर आएपनि मानवीय क्षतीको कुनै विवरण भने आइसकेको छैन ।

बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायण पाण्डेयले आफूहरु भूम्कपबाट भएको क्षतिबारे विवरण लिने क्रममा रहेको बताएका छन् । उनले अहिलेसम्म मानवीय क्षति भएकोबारे औपचारिक जानकारी नरहेको बताए । मानवीय संकटको अवस्था भएको जानकारी प्राप्त नभएको उनले बताए । उद्दारका लागि तीन वटै सुरक्षा निकाय तैनाथ रहेको पाण्डेयको भनाइ छ ।