हेटौंडा – दोलखाको बैतेश्वर गाउँपालिका १ जलेश्वरमा आज(मंगलबार)ट्रिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय बिक्रम तामाङ रहेका छन् ।
तामाकोशी नदीबाट गिटी बोकेर गैरीमुदीतर्फ जाँदै गरेको बा ३ ख ८८०७ नम्बरको ट्रिपर पछाडी सार्ने क्रममा आज बिहान पौने ११ बजे तामाङलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी गैरीमुदी दोलखा जानकारी दिएको छ । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका ११ नौरङ्गेमा साइकललाई ठक्कर दिएर कार घरको पर्खालमा ठोकिदा ३ जना घाइते भएका छन् । घाइते सबैको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ ।
घाइते मध्ये कारमा सवार भरतपुर ११ का २१ बर्षीय लालचन चौहानको अवस्था गम्भीर रहेको छ । नौरङ्गेबाट मालपोत चोकतर्फ आउँदै गरेको बा ११ च ७०७० नम्बरको कार, आज बिहान सवा ११ बजे बिपरित दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिइ घरको पर्खालमा ठोकिएको थियो ।