प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अस्ट्रेलियामा दुई नेपाली विद्यार्थी मृत भेटिए

२०८१ जेठ १६, बुधबार ०८:१९ बजे

काठमाडौं – सिड्नीको दक्षिण तटीय क्षेत्र कुर्नेलको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका दुई नेपाली विद्यार्थी सोमबार मृत भेटिएका छन्। स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा सोमबार साँझ २२ र २५ वर्ष उमेरका गोरखा र दोलखा घर भएका दुई नेपाली विद्यार्थी रहेका छन् ।

उनीहरु कुर्नेलस्थित चट्टानी क्षेत्रमा माछा मार्न पुगेका थिए। कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू समुद्रमा खसेका थिए । उनीहरू लाइफ ज्याकेट बिना चट्टानमा बसेर माछा मारिरहेको बताइएको छ।

सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सको स्टेट अपरेसन सेन्टरले स्थानीय समयअनुसार करिब २स्४५ बजे माछा मारिरहेका दुई जना चट्टानबाट पानीमा खसेको खबर पाएको थियो । त्यसपछि सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सका अधिकारीहरू, न्यु साउथ वेल्स एम्बुलेन्सका स्वास्थ्यकर्मीहरू र मरिन रेस्क्यु पनि घटनास्थल पुगेका थिए ।

घटनास्थलमा उद्धारकर्मी पुगेर दुई जनालाई निकालेर प्राथमिक उपचार दिइएको प्रहरीको भनाई छ। तर, केही समयपछि दुवै जनालाई घटनास्थलमा मृत घोषित गरिएको थियो।