प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

दसैँको मुखमा मूल्य बढेपछि चर्को आलोचना, पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी

२०८० आश्विन १४, आईतबार १३:०३ बजे

काठमाडौँ – दसैँको मुखमा मूल्य बढाएको भन्दै चर्को आलोचनापछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । यस विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाएर छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै १२ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक समेत बोलाएका हुन्।

‘पेट्रोलियम पदार्थलाई स्वचालित मूल्य प्रणालीमा लिनु पर्छ भन्ने सरोकारवाला निकायहरूको समेत सुझावको नेपाल आयल निगमले केही महिना अघि देखी स्वचालित मूल्य प्रणाली लागू गरेको थियो। तर केही समय यता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ (एलपीजीसमेत)मा मूल्यवृद्धि भएको र सोही अनुसार नेपाल आयल निगमले मूल्यवृद्धि गरेको देखियो,’ प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ, ‘नेपाली जनताको कमजोर क्रय शक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनु पर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ।’

नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएके निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ र डिजेल तथा मट्टितेलको १७९ रुपैयाँ पुगेको छ भने यस्तै एलपी ग्यासको २११० रुपैयाँ पुगेको छ ।

रातोपाटीबाट