महोत्तरी – जिल्ला अदालत महोत्तरीले नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ दिएको छ । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका प्रसनि थमन विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने निर्णय सुनाएको हो।
कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन् । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा गत सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको मुद्दामा बिहीबार फैसला भएको हो । अदालतमा विकपत्नी शोभा समेत उपस्थित थिइन् ।
सशस्त्र प्रहरीका प्रसनि थमन विकको हत्या गरको भन्दै सांसद कोइरीसहित २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। लामो समयपछि भएको सुनुवाइपछि जिल्ला अदालतले उनलाई हत्या अभियोगबाट सफाइ दिएको छ । २८ जनामध्ये आठ जना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको मुद्दामा थप छ महिना कैद सजाय हुने अदालतको फैसलामा उल्लेख छ।
जन्मकैद सजाय हुनेमा प्रदीप साह माझी सञ्जय साह, मोहन ठाकुर, शङ्कर शाही, रामशङ्कर मिश्र, अविराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन् ।
जन्मकैद सजाय पाएका मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् भने अविराम शर्मा मधेश प्रदेश सरकारका पूर्वराज्यमन्त्री तथा मधेश प्रदेश सभा सदस्य छन् ।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते प्रसनि विकको एम्बुलेन्सबाट निकालेर धानबारीमा लगेर हत्या गरिएको थियो । प्रहरीको फरार सूचीमा रहेका कोइरी प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी–१ बाट निर्वाचित भएका हुन्।