प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मकवानपुरमा आठ उम्मेदवारविरुद्ध उजुरी, कुन पालिकामा कति ?

२०७९ बैशाख १४, बुधबार १३:०२ बजे

हेटौंडा – यही वैशाख ३० गतेमा हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गरेका आठजना विरुद्ध उजुरी परेको छ । बकैया गाउँपालिकामा तीन, हेटौंडा उपमहानगरपालिकामा दुई, मनहरी गाउँपालिकामा दुई र बागमती गाउँपालिकामा एक जना उम्मेदवारविरुद्ध उजुरी परेको हो ।

बकैंया गाउँपालिका निर्वाचन अधिकृत आनन्दराज पोखरेलका अनुसार नेपाली कांग्रेसका उपाध्यक्ष छाँया अधिकारी, नेकपा माओवादीका उपाध्यक्ष भक्त खत्री र नेपाली कांग्रेसका वडा नम्बर ५ का लक्ष्मी जिम्बाविरुद्ध उजुरी परेको हो । उनिहरुविरुद्ध के विषयमा उजुरी परेको थियो ? त्यस बारेमा निर्वाचन अधिकृत पोखरेलले खुलाएनन् ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडाअध्यक्षका उम्मेदवार नविन सिग्देल र १९ नम्बर वडाका नरनाथ सुवेदीविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । सिग्देलविरुद्ध अबैधानिक उपभोक्ता समिति गठन गरी राज्यकोणको पैसा हिनामिना गरेको र सुबेदीविरुद्ध कर छली गरेको उजुरी परेको शर्माले बताए ।

त्यस्तै मनहरी गाउँपालिकामा नेकपा एकिकृत समाजवादीकी उपाध्यक्ष उम्मेदवार मनिला बिष्टविरुद्ध वेरुजुसम्बन्धी र नेपाली कांग्रेसका ३ नं. वडाका वडाअध्यक्षका उम्मेदवार आन्नत प्रसाद अर्यालविरुद्ध राजिनामा नदिएको भन्दै उजुरी दिएको मनहरीका निर्वाचन अधिकृत पुर्ण बहादुर दर्जीले जानकारी दिए ।

त्यसैगरी बागमती गाउँपालिकामा नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवार फडिन्द्र तिमल्सिनाविरुद्ध उजुरी परेको गाउँपालिकाका निर्वाचन अधिकृत हरि प्रसाद उपाध्यायले जानकारी दिए । 

उजुरी परेका उम्मेदवारहरुसंग स्पष्टिकरण लिने र उजुरीमाथि छानविन भइरहेको सम्बन्धित गाउँपालिकाका निर्वाचन अधिकृतहरुले बताए ।आरोप पुष्टि भएको खण्डमा उम्मेदवारको उम्मेदवारी खारेज हुनसक्ने निर्वाचन अधिकृतहरुको भनाई छ ।