प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

थ्री नेसन्स कप आजदेखि, नेपाल र लाओस भिड्दै

२०७९ चैत्र ८, बुधबार ०२:५४ बजे

काठमाडौं – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उद्घाटन खेल साँझ ५ बजेबाट शुरू हुनेछ ।

नेपाल र लाओस ७ वर्षपछि आमनेसामने हुन लागेका हुन् । सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जितेको थियो।

आज घरेलु मैदानमा नेपाल लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । आज हुने खेलमा नेपाली राष्ट्रिय टिममा छ नयाँ खेलाडी थपिएका छन् । नेपालका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले अन्गल्बर किरणको कप्तानीमा २३ सदस्सीय टिम घोषणा गरिसकेका छन् ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । त्यसअघि चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

नेपाली राष्ट्रिय फुटबल टोली
गोलकिपरः अभिषेक बराल, दीप कार्की, किरण चेम्जोङ ।
रक्षकः पदम भट्टराई, आदित्य चौधरी, अनन्त तामाङ, विकास तामाङ, रोहित चन्द, निशान खड्का, सनिस श्रेष्ठ ।
मिडफिल्डरः सुमित श्रेष्ठ, मणिकुमार लामा, नविन लामा, पुजन उपरकोटी, आयुष घलान, एरिक विष्ट, कमल थापा
स्ट्राइकरः दीपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, मनिष डाँगी ।