हेटौंडा – फ्रान्समा फ्रुटकिपिङको काम लगाइदिन्छु भनेर १९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–५ सतुङ्गल बस्ने तनहुँ शुक्लागण्डकी नगरपलिका–८ घर भएका ४६ वर्षीय तेजेन्द्र महत रहेका छन् ।
महतले “वैदेशिक रोजगारीमा फ्रान्स जानको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ, फ्रान्स पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फ्रुटकिपिङको काम लागइदिन्छु, आकर्षक कमाई हुन्छ” भन्दै ३ जना पीडितहरुबाट १९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपलिका–५ सतुङ्गलबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।