प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जर्जियाको गुदौरीमा ११ भारतीय नागरिकको मृत्यु, कार्बन मोनोअक्साइड विषाक्तताको शंका

२०८१ पौष २, मंगलबार ०८:५३ बजे

काठमाडौं – जर्जियाको प्रसिद्ध स्की रिसोर्ट गुदौरीमा ११ भारतीय नागरिक मृत फेला परेका छन्। तिब्लिसीस्थित भारतीय दूतावासले एक्स (पूर्व ट्विटर) मार्फत् यो घटनाबारे पुष्टि गर्दै विस्तृत जानकारी संकलनको प्रयास भइरहेको जानकारी दिएको छ।

स्थानीय प्रहरीका अनुसार गुदौरीको एक स्की रिसोर्टको दोस्रो तलामा १२ जनाको शव फेला परेको छ, जसमा ११ भारतीय नागरिक र एक जर्जियाई नागरिक रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा शवमा कुनै घाउचोट नदेखिएको र कार्बन मोनोअक्साइड ग्याँसको विषाक्तताका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार मृतकहरू सुत्ने ठाउँमा मृत फेला परेका थिए। घटनाको दिन शुक्रबार, बत्ती गएपछि तेलबाट चल्ने जेनेरेटर प्रयोग गरिएको बताइएको छ। प्रारम्भिक जानकारीअनुसार जेनेरेटरको ग्याँस रिसावटका कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

भारतीय दूतावासले घटनाको सम्बन्धमा स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको छ। यस घटनाले पीडित परिवारहरू र अन्तर्राष्ट्रिय समुदायमा गहिरो शोक र चिन्ता पैदा गरेको छ। विस्तृत अनुसन्धान जारी रहेको र थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।