हेटौंडा – आगामी मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभाको लागि नेकपा एमाले मकवानपुरले उम्मेद्वार सिफारिस गर्ने मिति र मापदण्ड तोकेको छ । बुधबार बसेको एमाले मकवानपुरको सचिवालय बैठकले भदौ १७ र १८ गतेभित्र प्रतितिधि तथा प्रदेशसभाको लागि उम्मेद्वार सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले प्रत्यक्षमा एक महिला सहित ३ जनासम्म सिफारिस गर्न सकिने मापदण्ड बनाएको एमाले मकवानपुरका सचिव नविन सिग्देलले बताए । उम्मेद्वार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्वता, लोकप्रियता र विजयको सुनिश्चिता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता र निर्वाचन कानुन बमोजिमको योग्यतालाई ध्यान दिनुपर्ने केन्द्रीय निर्देशन बमोजिम गर्न निर्देशन दिईएको सचिव सिग्देलको भनाई छ ।
बैठकले प्रतिनिधिसभा क्षेत्र नंबर १ मा अनन्त पौडेल तथा क्षेत्र नंबर २ मा डोरमणी पौडेललाई सहजकर्ता तोकेको छ । त्यसैगरि प्रतिनिधिसभा क्षेत्र नंबर १ को ‘क’मा रामचन्द्र राई, ‘ख’ मा गोपाल श्रेष्ठलाई सहजकर्ता तोकेको छ । त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नंबर २ को ‘क’मा प्रदेशसभा कमा रामचन्द्र राई, खमा गोपाल श्रेष्ठ, २ नंबर डोरमणि पौडेल, प्रदेशसभा क मा नवराज तिमल्सिना ‘ख’ मा एकराज उप्रेतीलाई सहजकर्ता तोकिएको छ ।
बैठक एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षता तथा एमाले मकवानपुरका इन्चार्ज तथा केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा रहेको थियो । बैठकमा केन्द्रीय सदस्यहरू जुनेली श्रेष्ठ, भारती पाठक, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका उपसचिव महेश बर्तौला लगायतका प्रदेश सदस्यहरूको उपस्थिति रहेको थियो ।