प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

६ महिने छोरीको हत्‍या, आमासहित दुईजना पक्राउ

२०७९ श्रावण २३, सोमबार ०४:५९ बजे

स्याङ्जा – छ महिनाकी छोरीको हत्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको आरोपमा गल्याङ नगरपालिका–२, इलुङ्गाका मीनबहादुर रानाकी श्रीमती २२ वर्षीय लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका–१०, कुमाल गाउँका २२ वर्षीय केदार कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही कसैलाई नसोधी छ महिनाको छोरीसहित लक्ष्मीले साउन १० गते कुमालसँग भागी विवाह गरेको १२ गते निजको ससुराले निवेदन दिनुभएको थियो । निवेदनको आधारमा खोजतलास गर्दा दुवैलाई गल्याङ नगरपालिका–३, गल्याङ बजारमा साउन २० गते नियन्त्रणमा लिएर अनुसन्धान गर्दा छोरीको हत्या गरेको खुलेको हो ।

छ महिनाकी छोरीलाई आमा लक्ष्मीले साउन १० गते अस्थायी शौचालयको खाल्टोमा फालेको अनुसन्धानमा स्वीकार गरेपछि वास्तविकता बाहिर आएको डीएसपी र वीन्द्र खनालले बताउनुभयो । आमा लक्ष्मीले बयानका आधारमा खोजतलास गर्दा बच्चाको लास सडेगलेको भेटिएको र महिला र पुरुष दुवै जनालाई ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको खनालले बताउनुभयो ।